
विराटनगर । सुनसरीको धरानमा हत्या गरेर फालेको अवस्थामा महिलाको शव फेला परेको छ ।
धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार दिउँसो १२ः३० बजेतिर शव फेला परेको थियो । गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी ३० वर्षीयाजस्तो देखिने महिलाको पहिचान खुलेको छैन । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले शवको पहिचानको प्रयास भइरहेको जानकारी दिए । शव फेला परेको जानकारी पाउनसाथ घटनास्थलमा फरेन्सिक विज्ञसहितको प्राविधिक टोली र प्रहरी पुगेको थियो ।
प्रहरीले घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत सहयोग लिएको छ । एसपी तिम्सिनाले पहिचानका लागि कोशी प्रदेशका सबैजसो प्रहरी युनिटमा हुलियासहित समन्वय भइरहेको बताए । घटनाको प्रकृति हेर्दा घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेसा लगाएर शव छाडेजस्तो देखिन्छ ।
इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
‘प्रारम्भिक अनुसन्धानबाट कर्तव्य गरेर मारेजस्तो देखिन्छ । गहिरै ढंगले अनुसन्धान गर्नुपर्ने अवस्थाको शव भेटिएको छ । सबै कोणबाट अनुसन्धान सुरु गरिएको छ,’ एसपी तिम्सिनाले भने । प्रहरीका अनुसार शव हेर्दा हत्या गरेको लामो समय भएजस्तो देखिँदैन ।

























