
काठमाडौं । नेपालमा व्यक्ति हत्यापछि भारतमा लुकेर बसेका अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।
सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका पर्साको विन्दबासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह पक्राउ परेका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता सुधीरराज शाहीका अनुसार जग्गा विवादमा तेलीले साविक बहुअर्वाभा गाविस– ५ का ढोडा मुखिया विनलाई २०६४ वैशाख २५ मा गोली प्रहार गरी हत्या गरेका थिए ।
विनलाई जग्गा विवादको विषयमा छलफल गर्न बोलाएर गोली हानी हत्या हानेको मुद्दामा २०७९ कात्तिक २४ गते सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाए सुनाएको थियो ।
हत्यापछि भागेका साहले भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रूपमा काम गरेका थिए । १० वर्षदेखि साधुको भेषमा लुकिछिपी बस्दै आएका उनलाई वीरगञ्जबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई फैसला कार्यान्वयनका लागि मंगलबार जिल्ला अदालतमा पेस गरिएको ब्युरोले जनाएको छ ।

























