
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका मागसहित आन्दोलनरत् शिक्षकहरुले सरकारसँग वार्ता अस्वीकार गरेका छन् । सरकारले वार्ताका लागि पटकपटक बोलाए पनि पहिले गरिएको सहमति पालना नभएको भन्दै उनीहरुले वार्ता अस्वीकार गरेका हुन् ।
चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका उनीहरुले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । आज (बुधबार) पनि उनीहरुले माइतीघरमा भेला भएर प्रदर्शन गर्ने भएका छन् । हिजो उनीहरूले बत्ती बालेर माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।
आन्दोलन नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार वार्तामा बसेर छलफल गर्ने भन्दा पनि ऐन जारी गर्ने कुरामा मात्र सहभागी हुने निधो गरिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन मंगलबार विज्ञप्ति जारी गरेर आमन्त्रण गरेको थियो । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले शिक्षक प्रतिनिधिहरू वार्ता र संवादमा आउन महासंघलाई आग्रह गरेका थिए ।
शिक्षक महासंघले भने यति बेला वार्ता, संवाद र सहमतिभन्दा पनि विद्यालय शिक्षा ऐन चाहिएको भन्दै छलफलमा बस्न आवश्यक रहेको जनाएको छ । अध्यक्ष सुवेदीले शिक्षकका मागका सम्बन्धमा यसअघि नै सरकारसँग सहमति भएको बताए । त्यही सहमतिअनुसार शिक्षा ऐन जारी गरे हुने उनको भनाइ छ ।
यसअघि शिक्षा मन्त्रालयले चैत २१ र २२ मा वार्तामा बोलाउँदा पनि शिक्षकहरूले संवाद आवश्यक रहेको जवाफ दिएका थिए । २१ मा विज्ञप्ति र २२ मा पत्राचार गरेर वार्तामा बोलाइएको थियो ।

























