
काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो ।
बैंकले बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो ।
आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर केही बढेर ५.१ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ । चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित हुने जनाइएको छ ।
‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ । उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ,’ एडीबीका नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काले भने, ‘यो क्षेत्रको वृद्धिलाई ऊर्जा क्षेत्रले धेरै नै योगदान गर्ने देखिन्छ ।’

























