
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने दाबी गरेका छन् । चैत ६ गते राष्ट्रिय सभामा साँझको समयमा लोडसेडिङ हुने उनले बताएका थिए ।
मन्त्री खड्काले बुधबार रसुवामा निर्माण सम्पन्न भएको ७८ मेगावाटको साञ्जेनखोला जलविद्युत् आयोजना उद्घाटन गर्दै अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताएका हुन् ।
सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे ।
आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशनसमेत दिए ।
सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको मन्त्री खड्काले बताए ।

























