
विराटनगर । विराटनगरको वाइआरसीसी क्रिकेट क्लब चौथो मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगिताअन्तर्गत विराटनगरको जुट मिल खेल मैदानमा बुधबार भएको खेलमा विराटनगरले सिराहा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै अन्तिम ४ मा स्थान पक्का परेको हो ।
टस जितेर पहिलो ब्याटिङ थालेको सिराहाले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४० रनको योगफल बनायो । शैलेन्द्र साहले २७ रन, चन्दन यादवले १६ रन, राकेश कामतले १५ रन र फतेन सिद्दिकीले १४ रनको योगदान दिए ।
बलिङमा विराटनगरका विधान गोस्वामीले ३ विकेट, राम नरेश गिरी र नरेन साउदले समान २–२ विकेट लिए ।
जितका लागि १ सय ४१ रनको लक्ष्य पाएको विराटनगरले १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अमित श्रेष्ठले ४६ रन बनाउँदै प्लेयर अफ द म्याच भए भने अमित यादवले ३७ रन, अमिर शेखले २१ रन, दिलीप नथले १६ रन र शुभ कंसकारले १२ रन बनाए ।
बलिङमा सिराहाका कुश मण्डल र आनन्द कमाइतले समान २–२ विकेट लिए ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा खेल बिहीबार विराटनगरको होराइजन र पटनाको हाइपर क्रिकेट क्लबबीच हुनेछ ।



















