
विराटनगर । विराटनगरमा लगातार मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको सीमावर्ती क्षेत्रबाट मोटरसाइकल चोरी गर्दै गर्दा मंगलबार दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुई व्यक्तिले पछिल्लो ६ दिनमा ६ वटा मोटरसाइकल चोरी गरेका थिए । चैतमा मात्रै विराटनगरबाट १० वटा मोटरसाइकल चोरी भएको थियो । मंगलबार साझ दुई जना पक्राउ पर्दा चोरी भएको ६ वटा मोटरसाइकल फेला परेको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न विराटनगर–१७ का २५ वर्षीय नौसाद अन्सारी र अर्का सोही वडाका १७ वर्षीय बालकलाई पक्राउ गरेको हो । प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको छ ।
डिएसपी जोशीका अनुसार पछिल्लो ६/७ दिनदेखि लगातार मोटरसाइकल चोरीको घटना बढेपछि विशेष निगरानी गर्ने क्रममा उनीहरु परेका हुन् । विराटनगर क्षेत्रको अस्पताल, पार्किङ स्थल, होटलको पार्किङ, अदालत, मालपोत कार्यालयलगायत भीडभाड हुने स्थानबाट मोटरसाइकल चोरी भएको थियो ।
गत मंसिर महिना अघिसम्म विराटनगरमा मोटरसाइकल चोरको गिरोह सक्रिय थियो । ‘मंसिरमा मोटरसाइकल चोरी गर्ने गिरोहका नाइके सुनसरीका नजाम अन्सारीलाई पक्राउपछि थुनामा गएपछि चोरीका घटनामा कमी आएको थियो,’ डीएसपी जोशीले भने,‘अन्सारीले यहाँ मोटरसाइकल चोरी गर्ने र भारतमा लगेर बिक्री गर्नुका साथै केही पीडितहरुको नम्बर पत्ता लगाएर सम्पर्क गरी मोटरसाइकलको फिरौती रकम माग्ने र मागे अनुसारको रकम दिएपछि मोटरसाइकल फिर्ता गर्ने गरेका थिए ।’ अन्सारी चोरी तथा आपराधिक मुद्दामा कारागार चलान भएका छन् ।
त्यसपछि केही महिना चोरीका घटना भएको थिएन । चैतमा भने फेरि चोरीको घटना बढेको थियो । चैत २६ गते विराटनगर–७ स्थित अस्पताल चोकको एउटा कपडा पसल अगाडि पार्किङ गरेको मोरङ कटहरी–१ का दुलाचन्द पोद्दारको नाममा दर्ता भएको प्र.१–०२–०४१ प ३४० नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा २ जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।
मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा थप ५ गरी चोरी भएका ६ वटा मोटरसाइकल सीमा क्षेत्रबाट बरामद गरी ल्याइएको उनको भनाइ छ । पक्राउ परेकाहरु यसअघि पनि आपराधिक घटनामा संलग्न भएको खुलेको प्रहरीले जनाएको छ ।
समूहमा अरु पनि हुन सक्ने भएकाले खोजी तीव्र बनाइएको जानकारी एसपी चिमरियाले दिए । गत साउनदेखि मंसिरसम्ममा विराटनगरबाट ६० वटा मोटरसाइकल चोरी भएका थिए । ती मध्ये ४ वटा फेला परेको थियो ।
फागुनमा एउटा मोटरसाइकल चोरी भएको थियो । चैतमा मात्रै १० वटा मोटरसाइकल चोरी भएको थियो । चोरी भएकामध्ये ६ वटा फेला परेको चिमरियाले बताए । पक्राउ परेकाविरुद्ध चोरी तथा आपराधिक लाभअन्तर्गतको मुद्दा चलाउन अदालतबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी चिमरियाले दिए ।


























