
विराटनगर । सुनसरीको धरानमा हत्या गरेर फालेको अवस्थामा शव फेला परेकी महिलाको पहिचान खुलेको छ ।
मृत फेला परेकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका–१ माइती भएर हाल सुनसरीको इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार चुनकुमारीका भाइ लीलबहादुर दाहालले शवको सनाखत गरिदिएका हुन् ।
शव धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा रहेको र पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको जानकारी खतिवडाले दिए । धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार दिउँसो १२ः३० बजेतिर महिलाको शव फेला परेको थियो । गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव फेला परेको जानकारी पाउनसाथ घटनास्थलमा फरेन्सिक विज्ञसहितको प्राविधिक टोली र प्रहरी पुगेको थियो । प्रहरीले तालिम प्राप्त कुकुरको समेत सहयोग लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
घटनाको प्रकृति हेर्दा घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेसा लगाएर शव छाडेजस्तो देखिने प्रहरीको भनाइ छ । मृत फेला परेकी महिलाको कम्मर मुनिको भागको कपडा थिएन ।
इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ । महिलाको हत्या कसले गरेको हो भनेर यकिन भइसकेको छैन ।
डीएसपी खतिवडाले घटनाको थप अनुसन्धान अघि बढाएर घटनामा संलग्नको पहिचानको प्रयास भइरहेको जानकारी दिए । महिलाको घाँटीमा चोटपटक देखिएको छ । घिसारेर केही पर पुर्याएर शव छाडेजस्तो देखिने प्रहरीको भनाइ छ ।

























