ग्रामथानमा वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चकाे आदेश

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २८, बिहीबार १८:२५

विराटनगर । ग्रामथान गाउँपालिका अध्यक्ष नमाेनारायण माझीले आफ्नाे अनुपस्थितिमा वडाध्यक्षलाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी दिने निर्णय कार्यान्यवन नगर्न उच्च अदालत विराटनगरले आदेश दिएकाे छ ।

उपाध्यक्ष गुणवतीदेवी थारू कार्यालयमा हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएर माझी मंगलबार चीन भ्रमणमा गएका थिए । अध्यक्षकाे निर्णयविरुद्ध उपाध्यक्ष थारूले दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालतका कामु मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे हाे ।

सोमबार वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक दिएर माझी मंगलबार चीन गएका थिए ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन भन्ने व्यवस्था अन्तर्गत उपदफा (४) को (क) मा अध्यक्ष वा प्रमुखको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ भन्ने प्रावधानको देहाय (१२) मा सातदिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने भन्ने समेतको व्यवस्था गरेको र सोही दफा १६(४) को देहाय (ख) (२)मा अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने भनी उपाध्यक्षको काम कर्तव्य र अधिकार तोकिएको पाइयो,’ अदालतको आदेशमा भनिएको छ,‘उल्लेख गरिएको कानूनी व्यवस्थाको आधारमा स्थानीय तहका निर्वाचित प्रतिनिधिले आफनो काम कर्तव्य र अधिकारको असल नियतले प्रयोग र पालना गर्नुपर्ने देखिन्छ । रिट निवेदक गाउँपालिकाको उपाध्यक्षको पदमा वहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिबाट देखिँदा सुविधा सन्तुलन एवम् कानूनको उचित प्रयोगको दृष्टिकोणबाट निवेदन माग बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिन आयो ।’

मंसिरको उपनिर्वाचनमा माओवादी केन्द्रबाट माझी अध्यक्षमा निर्वाचित भएका थिए । उनको उपाध्यक्षसँग सम्बन्ध राम्रो छैन । गत सोमबार आफ्नो विदाईमा पनि नआएको भन्दै उनले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । पालिकाबाट उनले ९ दिनकाे बिदा लिएका छन् ।

यसअघि कार्यपालिकाकाे निर्णयविरुद्ध उपाध्यक्ष थारु उच्च अदालत पुगेकी थिइन् । साे रिटमा पनि अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिएका थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.