
काठमाडौं । होप्सका हिमाल विष्ट र एभीएमकी इभाना थापा दोस्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको जुनियर यु– १९ उमेर समूहमा बिहीबार च्याम्पियन बनेका छन् ।
सिंगल्सको ब्वाइजमा हिमाल र गर्ल्समा इभाना पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले स्ट्याग च्याम्पियन टेबल टेनिस एकेडेमीका प्रवेश बस्नेतलाई ६–११, ११–६, ११–९ र ११–६ को सेटमा पराजित गरे ।
गर्ल्सकाे उपाधि भिडन्तमा इभानाले एभीएमकै प्रियंका राईलाई ७–११, ११–१, ११–७ र ११–९ को सेटमा हराइन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा खोल्छा पुखुका समीप श्रेष्ठ पहिलो भए ।
उनले फाइनलमा इखाछें स्पोर्ट्स क्लबका मुकेश महर्जनलाई ११–९, ९–११, ११–९ र ११–५ को सेटमा पाखा लगाए ।
प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–१५ सिंगल्सको ब्वाइजमा एभीएमका जयस्नु महर्जन र गर्ल्समा नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ, भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेंका निसान श्रेष्ठ तथा ६० वर्षमाथि पुरुष सिंगल्समा राजन सुब्बाले स्वर्ण जितेका थिए ।
विजेतालाई आयोजक एकेडेमीका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी र डा. मधुसूदन सुवेदी, प्रतियोगिता संयोजक धर्ममान बज्राचार्य, टेबल टेनिसको महिला सिंगल्समा ९ पटककी राष्ट्रिय च्याम्पियन नबिता श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।
४ दिने भएको प्रतियोगितामा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
सातै स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय÷२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।



















