
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो १२ः३० बजेतिर अर्धनग्न अवस्थामा महिलाको शव फेला पर्यो ।
हत्या गरेर फालेको अवस्थामा फेला परेको शवको पहिचान गर्न प्रहरीलाई समय लाग्यो । अन्ततः बिहीबार पहिचान खुलेको छ । मृत फेला परेकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थायी ठेगाना भएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उनका अनुसार महालक्ष्मी–१ माइती भएकी चुनकुमारी विगत २ वर्षदेखि सुनसरी इटहरीको हलगडामा बस्दै आएको पाइएको छ । पति (श्रीमान) प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि कोरियामा रहेको जानकारी खतिवडाले दिए ।
चुनकुमारी १३ वर्षीय छोराको साथमा इटहरीको हलगडामा डेरा बस्दै आएको प्रहरीले जनाएको छ । ‘छोरा पढाउनलाई इटहरीको हलगडामा बस्दै आएको पत्ता लागेको छ । पति प्रेमबहादुर ३ महिनाअघि कोरिया गएको खुल्यो । त्यसअघि पनि आउने–जाने गर्थे होलान्,’ डीएसपी खतिवडाले भने, ‘चुनकुमारीको शव शंकास्पद अवस्थामा फेला परेको हो । बल्ल पहिचान खुलेको छ । हत्या भएको आशंकामा विभिन्न कोणबाट अनुसन्धान गर्ने काम भइरहेको छ ।’
उनका अनुसार चुनकुमारीका भाइ लीलबहादुर दाहालले शवको सनाखत गरिदिएका हुन् । डीएसपी खतिवडाले चुनकुमारी के कारणले र कसरी धरान पुगिन् भन्ने यकिन भइसकेको छैन । ‘इटहरी बस्ने महिलाको शव धरानको जंगलमा भेटिएको हो । किन र के कामले त्यहाँ पुगेको भन्ने खुल्न सकिरहेको छैन,’ उनले भने ।
उनका अनुसार चुनकुमारी र प्रेमबहादुरबीच करिब १६ वर्षअघि बिहे भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शवको हालसम्म पोस्टमार्टम भएको छैन । आज (शुक्रबार) बीपी कोइराला विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ ।
गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको जानकारी पाउनसाथ घटनास्थलमा फरेन्सिक विज्ञ तथा तालिम प्राप्त कुकुरसहित प्राविधिक टोली र प्रहरी पुगेको थियो ।
शवनजिकै महिलाले लगाउने चप्पल, झोला, घडी फेला पर्यो । घटनाको प्रकृति हेर्दा घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेसा लगाएर शव छाडेजस्तो देखिने प्रहरीको भनाइ छ ।
महिलाको हत्या कसले गरेको हो भनेर हालसम्म यकिन भइसकेको छैन । ‘बल्ल त मृतकको पहिचान खुल्यो । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । कसैले हत्या गरेको रहेछ भने पत्ता लगाएर पक्राउ गर्छौं,’ डीएसपी खतिवडाले भने । प्रहरीले सीडीआर विश्लेषण गर्नेदेखि विभिन्न प्राविधिक पक्षबाट पनि अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटनामा संलग्नको पहिचानको प्रयास भइरहेको जनाएको छ । मृत फेला परेकी चुनकुमारीको घाँटीमा चोटपटक देखिएको छ । घिसारेर केही पर पुर्याएर शव छाडेजस्तो देखिने प्रहरीको भनाइ छ ।

























