
विराटनगर । दुर्गा प्रसाईंलाई झापाको भद्रपुर विमानस्थलबाट काठमाडौंतर्फ लगिएको छ । उनी चढेको जहाज भद्रपुर विमानस्थलबाट काठमाडौंका लागि भर्खरै उडेको छ ।
बुद्ध एयरको जहाजमार्फत काठमाडौं पठाइएको झापा प्रहरीले जनाएको छ । राजावादी आन्दोलनका कमाण्डर प्रसाईं काठमाडौंको हिंसात्मक प्रदर्शनपछि भारततिर भागेका थिए ।
उनी भारतको आसामबाट बिहीबार पक्राउ परेका हुन् । उनलाई काँकडभिट्टा नाका हुँदै शुक्रबार बिहान झापा ल्याइएको थियो । केहीबेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो । त्यसपछि भद्रपुर विमानस्थलबाट बुद्द एयरको जहाजमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शन हिंसात्मक बन्दा १ जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । अराजक बनेका प्रदर्शनकारीले निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड एवं आगजनी गरेका थिए ।
प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीलाई नै पेलेर गाडी चलाउँदै अघि बढेका प्रसाईं एकाएक सम्पर्कविहीन बने । आसामबाट पक्राउ गरेर नेपाल ल्याइएका प्रसाईंलाई काठमाडौं लगेर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रवलगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
प्रसाईंसँगै उनका अंगरक्षक (बडीगार्ड) दीपक खड्का पनि पक्राउ परेका छन् । खड्कालाई समेत सोही जहाजमा राखेर काठमाडौं लगिएको छ ।

























