
विराटनगर । विराटनगरस्थित बरगाछी –रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
विराटनगरस्थित एभरेस्ट बैंकले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
महानगरको सौन्दर्यकरणका लागि ‘क’ वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुसार बैंकले १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
सौन्दर्यीकरण परियोजनाका लागि महानगरका तर्फबाट सहजीकरण गरिरहेका सरसफाइ शाखा प्रमुख पुनमकुमार दाहाललाई बैंकका कोसी प्रदेश प्रमुख सुधीर गौतमले चेक हस्तान्तरण गरे ।
महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी –रानी सडक सौन्दर्यीकरण परियोजना अगाडि बढाएको छ ।
सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । एभरेस्टसहित १८ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३२ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
हाल तार जाली लगाएर फूल रोप्ने कार्य अन्तिम चरणमा पुगेको छ । बरगाछी –रानी सडक खण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये २ वटामा मात्रै अब तार जाली लगाउन बाँकी छ ।
करिब ४ वटा डिभाइडरमा मात्रै फूल रोप्न बाँकी रहेको दाहालले बताए ।

























