
काठमाडौँ । वि. सं. २०८१ ले बिदा लिने बेला भएको छ । आगामी सोमबार नयाँ वर्ष २०८२ सुरु हुँदैछ । अघिल्ला वर्षहरू जस्तै २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक, आपराधिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रह्यो ।
मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्चित बने ।
यस अवधिमा भएका आपराधिक घटनाहरु, कानुनी कारबाहीको कुरा अनि तीसँग सम्बन्धित केही चर्चित र प्रमुख घटना यस्ता छन्–
वैशाख १३ गते– रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैद ।
वैशाख २७ गते– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) द्वारा काठमाडौंको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरूपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध पक्राउ पूर्जी जारी ।
जेठ २ गते– राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनद्वारा सफाइ ।
कात्तिक २ गते– पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ ।
कात्तिक २० गते– गण्डकी प्रदेशसभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरूङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय ।
चैत ५ गते– काठमाडौँको टोखाबाट करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्रा बरामद ।
चैत २९ गते– काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनलगत्तै फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई झापाबाट पक्राउ ।

























