
काठमाडौँ । हङकङमा जारी चार देशीय टी-२० सिरिजको उपाधि कुवेतले जितेको छ । नेपालमाथि ३ रनको रोमाञ्चक जित निकाल्दै कुवेत च्याम्पियन बनेको हो। आधिकारिक प्रतियोगितामा यो कुवेतको नेपालमाथि पहिलो फाइनल जित हो ।
अन्तिम समयमा नेपाल सम्हालिन नसक्दा कुवेत च्याम्पियन बनेको हो । खराब सुरुवातका बाबजुत बसिर अहमदले उत्कृष्ट इनिङ्स खेल्दै नेपाललाई जित नजिक पुर्याएका थिए । तर, अन्तिम ३ बल बाँकी हुँदा ४ रन चाहिएको अवस्था बसिर क्याच आउट हुन पुग्दा नेपाल जितनजिक पुगरे अलआउट भयो ।
त्यसअघि खराब सुरुवात गरेको नेपाले ९२ रन जोड्दा ८ विकेट गुमाएको थियो। तर, नेपालका लागि बसिर अहमद र नन्दन यादवले नवौं विकेटका लागि ७२ रनको सानदार साझेदारी गर्दै टिमलाई खेलमा फर्काएका थिए । बसिरले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रन बनाए ।
त्यस्तै, नन्दन यादवले ३७ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा आसिफ शेखको २१ रन रह्यो। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन् । कुवेतका लागि अनुदिप चेनतामराले ३ विकेट लिँदा यसि पटेल र नभिनराज राजेन्द्रनले २-२ विकेट लिए। त्यस्तै, मोहम्मद सफिक र मोहम्मद अस्लामले १-१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हङकङको मङ्गकक मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतका लागि रभिजा सन्दर्वानले ६३ रन बनाउँदा क्लिन्टो एन्टोले २६ रन बनाए ।
त्यस्तै, मिट भावसरले १६ रन बनाउँदा उस्मान पटेलले २३ रन बनाएका थिए । त्यस्तै, थप दोहोरो स्कोरका रुपमा कप्तान मोहम्मद अस्लाम १३ रनमा अविजित रहे। सुरुवाति १० ओभरमा १ सय १० रन बनाएको उसले बाँकी १० ओभरमा ६४ रन मात्र बनाउन सकेको थियो ।
नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिँदा करण केसी र कुशल भुर्तेलले समान १-१ विकेट लिएका थिए । प्रतियोगिताअन्तर्गत आजै भएको तेस्रो स्थानको खेलमा हङकङले कतारमाथि १ रनको रोमाञ्चक जित निकाल्यो ।



















