
विराटनगर । कोसी प्रदेश स्तरीय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।
मोरङ बहिरा क्रिकेट संघले विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा आइतबार सम्पन्न खेलमा मोरङले सुनसरीलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ थालेको सुनसरीले निर्धारित २० ओभरमा अलआउट हुँदै ९८ रन मात्रै बनायो । निरज श्रेष्ठले २७ रन र रोहन खड्काले ११ रन बनाए । बलिङमा मोरङका मनोज रायले ३ विकेट र बैजनाथ चौधरीले २ विकेट लिए ।
९९ सय रनको लक्ष्य पछ्याएको मोरङले १७ ओभर ३ बलमा ३ विकेटको क्षतिमा विजयी हासिल गर्यो । बैजनाथ चौधरीले ३१ र अजय कर्णले २३ रन बनाए । बलिङमा सुनसरीका रोहन खड्काले २ विकेट र विवेक चन्दले १ विकेट लिए ।
प्लेयर अफ द म्याच मोरङका बैजनाथ चौधरी भए भने उनी नै प्लेयर अफ द सिरिज र उत्कृष्ट बलर घोषित भए । उत्कृष्ट ब्याटर मोरङकै अजय कर्ण भए ।
चैत २८ गतेदेखि भएको प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरी ४ टोलीको सहभागिता रहेको थियो ।
मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज श्रेष्ठ, कोसी प्रदेश खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालीदास भट्टराई, बहिरा क्रिकेट संघका केन्द्रीय सचिव अरविन्द चौधरीलगायतले पुरस्कार प्रदान गरे ।



















