
विराटनगर । नेपालमा १ वर्षको अवधिमा उच्च पदस्थ व्यक्तिहरु विभिन्न अपराधमा मुछिएका छन् । अर्थात्, नेपालमा उच्च पदस्थ व्यक्तिहरूको आपराधिक संलग्नता र कानुनी कारबाहीको विषयले २०८१ साल निक्कै चर्चामा रहयो ।
उच्च पदस्थ मुछिएका अनेक प्रकरण तथा कारबाहीका दृष्टिकोणले उल्लेखनीय वर्षका रूपमा २०८१ लाई लिन सकिन्छ । १ वर्षको अवधिमा राजनीतिज्ञदेखि न्यायाधीश, सहकारी सञ्चालकदेखि व्यवसायीहरू विभिन्न आपराधिक प्रकरणमा मुछिएर छानबिन, अनुसन्धान एवं कारबाहीको दायरामा परे ।
वर्षभरि राजनीतिक तहमा हलचल ल्याएको एउटा घटना हो, भुटानी शरणार्थी प्रकरण । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाअन्तर्गत पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, कांग्रेस नेता आङ्टावा शेर्पालगायत कारागार चलान भए ।
यस प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, शरणार्थी नेता टेकनारायण रिजाल, रामशरण केसी लगायतका व्यक्तिहरू पनि मुछिए । यसमा संलग्न भनिएका पूर्वमन्त्रीहरू खाँण र रायमाझी, तथा सचिव पाण्डेलगायतका व्यक्तिहरू पहिले नै पक्राउ परिसकेका थिए।
तर, भारतमा लुकेका बेचन झालाई पक्राउ गरी नेपाल ल्याएपछि २०८१ मा यो प्रकरणले फेरि चर्चा पायो । प्रहरीले उनलाई कञ्चनपुरबाट पक्राउ गरेको दाबी गर्यो । बेचनले रामशरण केसीबाट भुटानी शरणार्थीलाई अमेरिका पठाइदिन्छु भन्दै २ करोडको चेक लिएको अभियोग छ।
उनलाई समातेपछि सरकार ढल्ने स्थितिसमेत आयो । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले यसै घटनाले सत्ता समीकरण उल्टिएको दाबी गरेका छन्।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी घोटाला प्रकरणमा मुछिए । पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीलगायतका विभिन्न ५ वटा सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परे ।
लामिछानेमाथि रकम अपचलनसँगै ठगी र संगठित अपराधमा मुद्दा चलाइयो । विभिन्न जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । जिल्लाको आदेश उल्टाउँदै उच्चले थुनामा राख्न आदेश दिएपछि उनलाई पक्राउ गरेर कारागार चलान गरियो ।
जीबी राई, पूर्वडीआईजी छविलाल जोशी र लामिछाने मिलेर सुप्रिमको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ । राई हालसम्म फरार छन् । जोशीलाई थुनामा राख्न अदालतले आदेश दिएको छ ।
लामिछाने मुछिएको सहकारी ठगीले सबैको ध्यान खिच्यो । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि सुप्रिम सहकारी प्रकरणमा पक्राउ परे। उनले सचिव हुँदा रकम हिनामिना गरेको आरोप छ। पछि थुनामुक्त भए। यसै सहकारीबाट रवि लामिछानेले १ करोड ८० लाख ऋण लिएको प्रमाण फेला परेको अभियोजन पक्षको दाबी छ।
सहकारी ठगीकै अर्को नाम हो, सीबी तामाङ। उनी अध्यक्ष रहेको कान्तिपुर र पशुपति सेभिङ को–अपरेटिभमा १ अर्ब ५१ करोड हिनामिना भएको छ। ८ सय ५२ जनाले उनलाई कारबाहीको माग गर्दै जाहेरी दिएका छन्। यस्तै, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पनि रकम हिनामिना आरोपमा पक्राउ परे ।
२०८१ सालमा न्यायाधीश पनि कारबाहीमा परे । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि पत्नीले वैवाहिक बलात्कारको आरोप लगाइन् । उक्त प्रकरणमा अहिले आएर गिरीले सफाइ पाए ।
विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईं वर्षभरि विवादमा रहे । सर्वोच्च अदालत परिसरमा उनका सुरक्षा गार्डबाट हतियार र गोली बरामद भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
राजावादी आन्दोलनका कमाण्डर प्रसाईं तीनकुने ताण्डवपछि फरार रहेका थिए । प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रसाईं हालसम्म ३ पटक पक्राउ परिसकेका छन् । साइबर अपराध, राज्यविरुद्धको कसुर, संगठित अपराध र ज्यान मार्ने उद्योगका आरोपमा आरोप उनीमाथि लाग्यो । विभिन्न कसुरमा अनुसन्धान जारी राखिएका प्रसाईं अहिले प्रहरी हिरासतमा छन् ।
कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता सम्बन्धी कसुरको आरोप लाग्यो । पूर्वगृहमन्त्री लामिछानेको आदेशमा उनी पक्राउ परे ।
सिरोहियाले लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको दाबी उजुरीकर्ताले गरेका छन् । १ साता हिरासतमा बसेपछि सिरोहिया हाजिर जमानीमा रिहा भए । तर, मुद्दा विचाराधीन छ ।
६० किलो सुन तस्करी प्रकरणले पनि वर्षभरि चर्चा पायो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दोस्रो चरणको अनुसन्धानपछि १६ जनालाई थुनामा पठायो । त्यो समूहले ३ हजार १ सय ९४ केजी सुन तस्करी गरेको अनुसन्धान एवं छानबिनको निष्कर्ष छ ।
विभिन्न अपराधमा मुछिएसँगै राजनीतिक र सामाजिक क्षेत्रमा चिनिएका एवं चर्चित व्यक्तिहरुलाई २०८१ मा छानबिन एवं अनुसन्धानको दायरामा ल्याइएको थियो । २०८२ साल भने सोमबारबाट सुरु हुँदैछ ।

























