
काठमाडौँ । सिराहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेर मंगलबार ज्यान गुमाएकी युवतीको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो राख्दै छानबिन गर्न निर्देशन दिएका छन् ।
बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।
गृहमन्त्री रमेश लेखकले घटनाबारे चासो राख्दै छानबिन गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका छन् । पुस ९ गते बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेको बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेका आरोप छ । उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् ।
जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको सिरहाका एसपी अनन्तराम शर्माले बताए । इलाका प्रहरी कार्यालय महेशपुर पतारले पीडितले दिएको जाहेरी ढिला दर्ता गरेको पाइएको छ । पुस गते मेडिकल गरेपनि जाहेरी दर्ता ढिला गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

























