
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको बताएका छन् । त्यसका लागि आयोजना छनोट, लगानीका लागि रहेको बाधा हुने खालका कानुन संशोधन गर्ने प्रक्रिया जस्ता कामको तयारी पूरा भएको उनले बताए ।
सम्मेलनबारे जानकारी दिन आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरु समेटिएको र त्यसबाहेक उद्योग र आईटी क्षेत्रलाई पनि समेटिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
संघीय सरकारसँग समन्वयमा कानुन संशोधन र आवश्यक नीतिहरू संशोधन गरिने उनले बताए । लगानी सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीको विकास हुने दाबी गरे ।
राष्ट्रिय आयको वृद्धिमा यसले सहयोग पुर्याउने चर्चा गर्दै कार्कीले विगतमा भएका लगानी सम्मेलनबाट पाठ सिक्दै अधिकतम लगानी भित्र्याउने र लगानीको सुनिश्चितताको लागि सम्मेलन सफल हुने बताए ।
वैशाख १८ र १९ गते विराटनगरको वीरेन्द्र सभागृहमा हुने लगानी सम्मेलनमा १ खर्ब ३९ अर्ब रूपैयाँ रुपैयाँको परियोजना ‘शोकसिङ’ गर्ने तयारी प्रदेश सरकारको छ।
प्रदेश सरकारले ५४ वटा योजनाहरू लगानी सम्मेलनको शोकेसमा राख्ने तय गरेको छ । लगानी सम्मेलनमा सुनिश्चित भएको लगानी कार्यान्वयनमा लैजानका लागि समेत सचेत भएर काम गरिरहेको मुख्यमन्त्री कार्कीले बताए ।
पत्रकार सम्मेलनमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानी सम्मेलनका लागि सबै खालका कानुनी अड्चनहरू फुकाउने गरी काम भइरहेको बताए ।
लगानी सम्मेलनलाई लक्षित गरेर कानुनहरु संशोधन गर्ने र नयाँ कानुन बनाउने काम भइरहेको उनले बताए । ८ वटा प्रदेश कानुन संशोधन गर्ने र एउटा नयाँ कानुन बनाउने क्रममा रहेको जानकारी उनले दिए ।
लगानी सम्मेलन पहिलो पटक आयोजना गर्न लागिएकोले स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा लगानी सम्मेलनको तयारी अगाडि बढेको मन्त्री भण्डारीले बताए ।
कोशी प्रदेशमा सार्वजनिक, निजी साझेदारीअन्तर्गतका परियोजनाहरूलाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्ने मन्त्री भण्डारीले जानकारी दिए ।
लगानी प्राधीकरणका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा र भौतिक पूर्वाधारमा १४ वटा योजना बनेका छन् । यस्तै, लगानी सम्मेलनमा कृषिका ९ र उद्योगका ९ वटा परियोजना समावेश गरिएको उनले बताए ।
सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वटा परियोजना सम्मेलनका लागि शोकेसिङ भएका छन् । लगानी सम्मेलनमार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायतका योजना छानिने भएका छन् ।
कोशी प्रदेश लागानी सम्मेलन सचिवालयका संयोजक तथा प्रदेश सचिव पवनकुमार तिमिल्सेनाका अनुसार सम्मेलन सफल बनाउन विभिन्न समितिहरू गठन भइसकेका छन् । नीतिगत, कानुनी सुधार तथा प्रशासनिक सहजताका पक्षमा पनि तयारी अघि बढाइएको उनको भनाइ छ ।

























