
काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा आज (बुधबार)बाट सुनुवाइ सुरु भएको थियो । सुनुवाइमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
गत माघदेखि सुरु नियमित सुनुवाइको चौथो दिनमा आज वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, अधिवक्ताहरू कीर्तिनाथ शर्मा, हर्कबहादुर रावललगायतले बहस गरेका छन् । २०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतका पदाधिकारी सिफारिस गरेका थिए ।
तर, त्यो विषय २०७७ पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मात्र सार्वजनिक गरिएको थियो । उक्त नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अहिलेसम्म मुद्दाको किनारा लागेको छैन ।

























