
विराटनगर । झापाको हाल्दीबारी गाउँपालिका–१ (साविकको गोलधाप गाविस–६)का ६१ वर्षीय नरबहादुर विकलाई २०५७ सालमा ठगीको आरोप लाग्यो ।
त्यतिबेला भारत आसामका १ व्यक्तिमाथि ठगी गरेको आरोप लाग्दा उनी ३७ वर्षका मात्रै थिए । विकविरुद्ध प्रहरीले ठगी मुद्दा चलायो । जिल्ला अदालत झापाले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दियो ।
अदालतको आदेश अनुसार उनी कारागार चलान भए । ४ महिनासम्म कारागारमै बसे । पछि मुद्दाको फैसला हुँदा विकले सफाइ पाए । मुद्दाको फैसला २०५७ साल भदौ ४ गते भएको थियो ।
तर, झापा अदालतको फैसला चित्त नबुझेको भन्दै उक्त फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन गर्यो । विकको मुद्दामा जिल्ला अदालतले गरेको फैसलालाई तत्कालीन पुनरावेदन अदालतले उल्टाइदियो ।
पुनरावेदन अदालत इलामले २०५८ साल माघ २२ गते मुद्दाको किनारा लगाउँदा विकलाई १ वर्ष कैद र ५३ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा जरिबाना हुने फैसला सुनाएको थियो । तर, विकले हालसम्म कैद सजाय र जरिबाना भुक्तान नगरेको पाइएको छ ।
अदालतले दोषी ठहर गर्दै कैद तथा जरिबानाको फैसला सुनाएको भए पनि सजाय भुक्तान नगरिकन लामो समयदेखि उनी फरार रहँदै आएका थिए । प्रहरीले २४ वर्षदेखि खोजी गरिरहेको थियो ।
जवानीमा ठगी गरेर फरार भएका उनै विकलाई प्रहरीले बुढेसकालमा पक्राउ गरेको छ । विकलाई पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेस गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि विकलाई कारागार चलान गरेको छ । विकलाई गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी डीएसपी खड्काले दिए ।
‘अदालतले दोषी ठहर गरे पनि सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार रहेको पाइयो । खोजतलासका क्रममा फेला पारेर पक्राउ गरिएको हो,’ उनले भने । खड्काका अनुसार अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरे पनि सजाय भुक्तान नगरिकन भागिरहेका फरार प्रतिवादी पक्राउ अभियानलाई झापामा तीव्र पारिएको छ ।

























