
सुनसरी । लागुऔषध गाँजा ओसारपोसार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको हुलाकी राजमार्ग (फुलचोक–विराटनगर खण्ड) मा जाँच गर्ने क्रममा सप्तरीका युवक पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी गस्ती टोलीले बुधबार साँझ ७ः५० बजे रातो–कालो रंगको पल्सर मोटरसाइकल जाँच गर्न खोज्दा चालक मोटरसाइकल नरोकी भागेका थिए ।
प्रहरी टोलीले पछ्याउँदै जाँदा हरिनगरा गाउँपालिका–४ स्थित बजार क्षेत्रमा स्थानीयको सहयोगमा मोटरसाइकलको पछाडि सवार युवकलाई समातेको हो।
पक्राउ परेका व्यक्ति सप्तरीको कञ्चनपुर स्थायी घर भई हाल सुनसरी बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बस्ने २४ वर्षीय राजेश मुखिया रहेको प्रहरीले जनाएको छ। उनको साथबाट दुईवटा झोलामा राखिएको करिब २४ केजी गाँजा बरामद गरिएको छ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको जनाएको छ। मोटरसाइकल लिएर फरार बनेका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

























