
काठमाडौं । बन्दी सहायता नियोग (पाम) ले नेकोस ७ औं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बिहीबार ७ स्वर्ण जितेको छ ।
पहिलो दिन ११ स्वर्णको टुंगो लाग्दा पामले ७ स्वर्ण जित्यो । पामले पुरुषमा ४ र महिलामा ३ स्पर्धामा स्वर्ण हात पार्यो । एपीएफले २ तथा बाँके र रुसले समान १–१ स्वर्ण हात पारे ।
नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष २० केजीमुनि विष्णु गिरी, २५ केजीमुनि अश्विनी तामाङ, ३५ केजीमुनि बबिन कुमाल दियाली र ५५ केजीमुनि दीपेश गुरुङले पामलाई स्वर्ण दिलाए ।
फाइनलमा विष्णुले बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रिन्स बिक, अश्विनले एमएमएसीका दियान तामाङ, बबिनले बाल विकास स्कुलका आदित्य श्रेष्ठ र दीपेशले कोशी प्रदेशका लक्ष्मी राजवंशीलाई पराजित गरे ।
पुरुषकै ४५ केजीमुनि रुसका डेभिड मगोमेदोबले भुटानका निमा तेन्जिङ तथा ६६ केजीमुनि एपीएफका विशेष विकले दाङका सुन्दर राना मगरलाई फाइनलमा हराउँदै शीर्ष स्थान हात पारे ।
पामका लागि महिला २८ केजीमुनि कृष्णा महतरा, ४४ केजीमुनि समिता नेपाली र ५२ केजीमुनि विनिता नेपालीले स्वर्ण जिते ।
कृष्णाले फ्रान्सकी लि प्लान्टार्ड, समिताले एसओएस जुडो डोजोकी मनमाया तामाङ र विनीताले भुटानकी तान्डिन दोर्जी वाङमोलाई पाखा लगाए ।
नयाँ बजारस्थित खुसि बुँमा भएको प्रतियोगिताको महिला ३६ केजीमुनि बाँकेकी खिमा रोका पहिलो भइन् । खिमाले फाइनलमा एमएमएसीकी रेनिशा वाइबालाई पन्छाइन् ।
महिला ६३ केजीमुनि फाइनलमा एपीएफकी रेखा श्रेष्ठले पामकी लक्ष्मी श्रृषलाई पराजित गर्दै पहिलो भइन् ।
प्रतियोगिताको नेकोसका इन्चार्ज जेएन थपलियाले एक कार्यक्रमबिच उद्घाटन गरे ।
प्रतियोगितामा नेपालका विभिन्न जिल्ला / क्लब, रुस, भुटान, फ्रान्स, काजकिस्तान र भारतका २ सय ८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिए ।
पुरुषमा १२ र महिलामा ११ गरी २३ स्पर्धामा २१ वर्षमुनिका खेलाडी सहभागी छन् । प्रतियोगिताको अन्तिम दिन शुक्रबार १२ स्पर्धाको फाइनल हुनेछ ।



















