
काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपालस्थित कोरियाली राजदूत पार्क तेई योङले संयुक्त रूपमा कुकिवन कप तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरे ।
नेपाल तेक्वान्दो संघ तथा कोरियास्थित विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको संयुक्त आयोजनामा संघको हलमा वैशाख ६ गतेसम्म प्रतियोगिता हुनेछ ।
नेपालका विभिन्न तेक्वान्दो डोजाङ तथा विभागीय तेक्वान्दो टोलीबाट ७ सय खेलाडी सहभागिता रहेको आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा खेलकुद मन्त्री चौधरीले देशको नाम उँचो राख्न तेक्वान्दोले योगदान पुर्याइ रहेको बताउँदै प्रतियोगिताको आयोजनाले नेपाल र दक्षिण कोरियाबिचको सम्बन्धलाई समेत अझ प्रगाढ पार्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा ब्रेकिङ, पुम्से, टिम फाइट तथा तेक्वान्दो एरोबिक्सका विधाहरूमा प्रतिस्पर्धा हुनेछ ।



















