
काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी बिहीबार राति गोली प्रहार भएको छ ।
बिहीबार राति ११ : ३० बजेतिर मायादेवी गाउँपालिका–१ पकडीस्थित घरमा रहेका चौधरीलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति शौचालय जाँदै गर्दा घर परिसरमा उनलाई लक्षित गरेर अज्ञात व्यक्तिले गोली गरेको हो ।
अध्यक्ष चौधरीलाई उद्धृत गर्दै गोली चलाउने व्यक्ति आफूभन्दा अग्लो र मुखमा पट्टी बाँधेर आएको प्रहरीले जनाएको छ ।
अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार गरे पनि गोली नलागेको प्रहरीले जनाएको छ । चौधरी शुद्धोधनको अध्यक्ष भए पनि उनी मायादेवीस्थित घरमा बस्दै आएका थिए ।
घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य तीव्र पार्दै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























