
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अपराध अनुसन्धानमा उल्लेखनीय काम गरेका २ जना प्रहरी अधिकृतलाई चैत महिनाको सर्वोत्कृष्ट घोषित गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर दिवश कुँवर र मोरङको अमाहीवरयाती प्रहरी चौकीमा कार्यरत असई नवराज कार्कीलाई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार विभागीय मूल्य, मान्यता अनुरूप अपराध अनुसन्धानमा उल्लेखनीय योगदान गरेकाले सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
प्रदेश भरबाट प्रत्येक महिना सर्वोत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रोत्साहन स्वरूप सम्मान गर्दै सर्वोत्कृष्ट घोषित गर्ने गरिएको छ । कुँवर चैत २५ गते सुनसरीको धरान –६ स्थित जंगलमा शंकास्पद अवस्थामा मृत भेटिएकी धनकुटा महालक्ष्मी –१ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्याको अनुसन्धान गरेर घटनामा संलग्न ५ जनालाई पक्राउ गर्न सफल भएका थिए ।
त्यस्तै, चैत २१ गते मोरङको जहदा गाउँपालिका –७ का २७ वर्षीय उमेश कामतको घरबाट १ हजार ८८ किलोग्राम लागुऔषध गाँजा बरामद गरी कामतलाई पक्राउ गरेका असई कार्की पनि सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । दुवै जनालाई कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले ‘वेस्ट पुलिस अफ दी मन्थ’को उपाधि प्रदान गरेका छन् ।

























