
विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशनबाट निर्वाचित भएकाहरुको पदस्थापन भएको छ ।
विराटनगरमा चैत २९ र ३० गते सम्पन्न ३३ औं वार्षिक साधारणसभा तथा १७ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सञ्जीव सिग्देलले विराटनगर ट्रक व्यवसायी संघलाई नयाँ गति दिने गरी अघि बढ्ने प्रतिबद्धता जनाए ।
संघ युवाको नेतृत्वमा आएकाले संघलाई आगामी दिनमा गतिशील बनाइने उनको भनाइ छ । अधिवेशनबाट अध्यक्षमा सञ्जीव सिग्देल, उपाध्यक्षमा अशोक पोद्दार, महासचिवमा रमेश श्रेष्ठ, सचिवमा रामचन्द्र दाहाल र कोषाध्यक्ष खगेन्द्र सिग्देल निर्वाचित भएका थिए ।
सदस्यहरुमा दिलिप धाडेवा, दिनेश सिग्देल, युवराज श्रेष्ठ, ध्रुवप्रसाद काफ्ले, वीरबहादुर गिरी, तुलसी पोखरेल र मेघबहादुर अधिकारी निर्वाचित भएका थिए । नवनिर्वाचित कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष लोकनाथ पोखरेलले पदस्थापन गराएका हुन् ।
पदस्थापन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मेघराज सिग्देल, महासचिव राजेन्द्रविक्रम बानिया, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलगायत सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा हुने बिचौलिया प्रणाली अन्त्य गर्दै सेवाग्राही मैत्री प्रणाली लागू गर्ने तयारी गरिरहेको जानकारी दिए । अबको १ महिनाभित्रै अनलाइन फारम तथा ई–पेमेन्ट प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।
भण्डारीले यातायात कार्यालयमा हुने अव्यवस्था नियन्त्रण गर्न अनलाइन सेवा प्रणाली आवश्यक रहेको बताए । अब लाइसेन्स नवीकरणलगायत अधिकांश सेवा प्रवाह अनलाइनबाटै गर्न सकिने व्यवस्था मिलाइने जानकारी उनले दिए । ‘फारम भर्नेदेखि भुक्तानीसम्मको प्रक्रियालाई ‘डिजिटल’ बनाइनेछ,’ उनले भने ।
उनले यातायात कार्यालयमा सेवा लिन पुग्ने नागरिकले अबदेखि फारम तथा भौचर भराउने काम कर्मचारीकै सहयोगमा निःशुल्क गर्नसक्ने जानकारी दिए । यो व्यवस्था १ महिनाअघि नै प्रारम्भ भइसकेको भण्डारीको भनाइ छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ट्रक ढुवानी सेवा ‘लाइफलाइन सेवा’को रूपमा रहेको बताए । ‘खाद्यान्नदेखि अन्य आवश्यक सामग्री ढुवानीमा ट्रकको भूमिका महत्त्वपूर्ण छ । ट्रान्सपोर्ट सेवा मुलुकको आर्थिक मेरुदण्ड हो,’ उनले भने ।

























