
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।
उनले राष्ट्रिय खेलाडी लोहनी खेल्ने क्रममा मैदानमै घाइते भएको हुँदा सम्पूर्ण उपचारको जिम्मा ३ तहको सरकारले लिनुपर्नेमा जोड दिए ।
लोहनीको निःशुल्क उपचारका लागि ३ तहका सरकारको साथै नेपाल क्रिकेट संघ (क्यान) को ध्यानाकर्षण गराएको बताए ।
कोशी प्रदेश क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लोहनीको उपचारका लागि सरकारले गम्भीरता पूर्वक नलिँदा खेला क्षेत्र निराश भएको सदस्यसचिव बस्नेतले बताए ।
मैदानमै चोटग्रस्त भएका खेलाडीहरूलाई सरकारले विशेष प्राथमिकतामा राखेर उपचारको व्यवस्था मिलाउन सके खेलाडीमा नैराश्य छाउने थिएन, उनले भने ।
क्रिकेटको माध्यमबाट नेपालको नाम विश्वभर चिनाउने खेलाडीहरूले उपचारमा सहयोग नपाउनु दुःखद अवस्था आएको बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘लोहनीले सहयोग नपाउनु दुःखद हो । राष्ट्रको गौरवको रूपमा रहेका खेलाडीले नै उपचारका लागि ठुलो संघर्ष गर्नुपर्दा सम्पूर्ण खेल क्षेत्र निराश र खेल क्षेत्रमा भविष्य छैन भन्ने सन्देश गएको छ । प्रधानमन्त्री, खेलकुद मन्त्री, स्वास्थ्य मन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीसँग लोहनीको यथाशीघ्र उपचारको व्यवस्था मिलाइ दिन अनुरोध गर्छु ।’
सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी २० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको नेतृत्व गर्दै गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए ।
घाइते भएपछि लोहनीले खुट्टाको ५ पटक शल्यक्रिया गराइसकेका छन् । हाल उनी भारतमा पुनः शल्यक्रिया गराउन गएका छन् भने यसअघि २ लाख खर्च भइसकेको र थप खर्च लाग्ने बताइएको छ ।
यसअघि नै नेपाल क्रिकेट संघले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।



















