
काठमाडौं । प्रधान न्यायाधीशको नेतृत्वमा रहने न्याय परिषद्को बैठक आज (सोमबार) बस्ने भएको छ । न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक आइतबार साँझ पनि प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको थियो । करिब २ घण्टा छलफल हुँदा पनि न्यायाधीश नियुक्तिमा सहमति नजुटेपछि बैठक बिना निष्कर्ष सकिएको थियो ।
बैठकमा न्यायाधीश नियुक्ति गर्ने गरी छलफल भए पनि सहमति जुट्न नसकेको न्याय परिषद्का १ सदस्यले बताउ । यसअघि गत बिहीबार पनि बैठक बस्यो । न्यायाधीश नियुक्तिका सम्बन्धमा बैठक बसेकोमा उक्त दिन पनि सहमति जुट्न नसकेको बताइन्छ ।
हाल देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतमा गरेर ३३ न्यायाधीश रिक्त छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ २२ गते न्याय परिषद्को सदस्यमा संसदीय सुनुवाइबाट अनुमोदन भएका दामोदर खड्कालाई नियुक्त गरेका थिए ।
खड्काको नियुक्तिसँगै पूर्णत पाएको न्याय परिषद्ले न्यायाधीश नियुक्तिको निर्णय भने हालसम्म लिन सकेको छैन । नेपाल बार एसोसिएसनमा विजयप्रसाद मिश्र नेतृत्वको नयाँ टिम आएसँगै प्रधान न्यायाधीश राउतले न्यायाधीश नियुक्तिका लागि सक्रियता बढाएका छन् ।
यसअघि बार र बेन्टबीचको खटपटले न्यायाधीश नियुक्तिलाई समेत असर गरेको थियो । प्रधान न्यायाधीश राउत नेतृत्वको रहेको न्याय परिषद्को सदस्यमा वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, कानुनमन्त्री अजयकुमार चौरासिया तथा वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का र सदस्य सचिवका रूपमा यमबहादुर बुढामगर छन् ।

























