
विराटनगर । विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गर्ने भएको छ ।
प्रसाईं हाल प्रहरीकै हिरासतमा रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ । प्रसाईंले चैत १५ गते काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका थिए ।
उनको नेतृत्वमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए । ठाउँठाउँमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
तीनकुनेमा हिंसा भड्काएको र प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोप उनीमाथि लागेको छ । हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेका उनीविरुद्ध सीआईबीमा पनि बैंकिङ कसुरको उजुरी परेको छ ।
नेपाल राष्ट्र बैंकले उक्त उजुरी दिएको हो । उजुरीमा बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्नुपर्ने माग गरिएको सीआईबीका प्रवक्ता सुधीरराज शाहीले जानकारी दिए । उजुरीका आधारमा प्रहरीले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।
‘प्रसाईंमाथि अब सीआईबीबाट पनि अनुसन्धान हुन्छ,’ एसपी शाहीले भने । राष्ट्र बैंकको उजुरीमा प्रसाईंले ऋण लिएर दुरूपयोग गरेको विषय उल्लेख छ । होटल, अस्पताल, व्यवसाय विभिन्न नाममा अर्बौंको ऋणलाई दुरूपयोग गरेको आरोप राष्ट्र बैंकको छ ।
यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गतेको प्रदर्शनका लागि प्रसाईंलाई कमाण्डर घोषणा गरेको थियो ।
प्रदर्शन हिंसात्मक बनेसँगै प्रसाईं फरार भएका थिए । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, प्रसाईं भागेर भारतको आसाम पुगेका थिए । आसामबाटै पक्राउ गरेर प्रहरीले चैत २९ गते नेपाल ल्याएको हो ।

























