
काठमाडौं । एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
अप्रिल २५ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष / महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि विपिन तामाङले प्रतिस्पर्धा गर्ने छन् । घरेलु प्रतियोगितामा विकास नेपाल प्रहरी, विशेष एपीएफ र विपिन नेपाल आर्मीबाट खेल्छन् ।
महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान र ७० केजीमुनि रञ्जना खड्का सहभागी हुने छन् । देवीकी बन्दी सहायता नियोग (पाम), मनिता प्रहरी र रञ्जना एपीएफका हुन् । ओलम्पिक समेत खेलिसकेकी मनिता पनि पामकै उत्पादन हुन् ।
अफिसियलमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे, प्रशिक्षकमा मोहन सुनुवार र सुनिता मगर तथा व्यवस्थापकमा तुलबहादुर थापा मगर रहेका छन् ।
आइटी रूपमा सुप्रसिद्ध ताम्राकार पनि टोलीसँगै थाइल्यान्ड गएका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतियोगिता दौरान हुने जुडो युनियन अफ एसियाको वार्षिक साधारण सभामा सहभागी हुन जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य सोमबारै थाइल्यान्ड प्रस्थान गरिसकेका छन् ।



















