संसद्‌मा नयाँ २ विधेयक दर्ता

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार १२:२९

काठमाडौं । संघीय संसद्‌मा दुई वटा नयाँ विधेयक दर्ता भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१’ प्रतिनिधि सभामा र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक आवश्यक परेको हो ।

परियोजनाको पहिचान, प्राथमिकीकरण, लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, स्वदेशी तथा वैदेशिक लगानी लगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोगमा विधेयकले सहयोग पुर्‍याउनेछ । वैकल्पिक विकास वित्त सम्बन्धी कानुन बनेपछि विकासका नवीन स्रोतहरूको परिचालन गर्न तथा यसको माध्यमबाट रोजगारी प्रवर्द्धन, दिगो आर्थिक विकास र दीर्घकालीन लगानी सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा छ ।

पर्यटन विधेयक पनि संसद्मा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले हालै यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेका छन् । उनका अनुसार पर्यटन तथा क्यासिनो संघ र प्रदेशको साझा अधिकारको सूचीमा र पर्यटन शुल्क स्थानीय तहको एकल तथा तीन वटै तहको साझा अधिकारको सूचीमा समावेश छ ।

विद्यमान पर्यटन ऐन २०३५ बाट संवैधानिक व्यवस्थाहरूको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिने अवस्था नरहेकाले नयाँ विधेयक ल्याउनुपरेको पाण्डेले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.