
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ ।
सिंगल राउन्ड रोबिन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । ४ टोली सहभागी भएको खेलमा अपराजित आर्मीले सर्वाधिक ९ अंक जोड्दै उपाधि जित्यो ।
च्यासल मैदानमा आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोलअन्तरले पराजित गर्यो । आर्मीका लागि दमरा भट्टले २ तथा सीतामाया बलले १ गोल गरिन् ।
दमरा फाइनलको ‘प्लेयर अफ द म्याच’ बनिन् । २ मा जित र १ मा हार व्यहोरेको गण्डकी ६ अंकका साथ दोस्रो भयो ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा ३ अंकका साथ मधेस प्रदेश तेस्रो भयो । मधेसले बागमती प्रदेशलाई १–० गोलले हरायो । भावना राईले निर्णायक गोल गरिन् ।
शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे ।
आर्मीकी नीलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन् भने मधेसकी खुश्बु कुमारी उदीयमान खेलाडी बनिन् । गोलरक्षकमा अनिशा थापा मगर तथा डिफेन्समा सोनु बराल उत्कृष्ट भए । दुवै गण्डकीका हुन् ।
प्रतियोगिताभर ५ गोल गरेकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । उत्कृष्ट ५ ले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मालगायतले पुरस्कार प्रदान गरे ।



















