
विराटनगर । सुनसरी जिल्लाले विराट फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरस्थित जाम्बोरे फुटसल कोर्टमा मन्जिना फाउन्डेसनको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सोमबार (आज) भएको फाइनल खेलमा सुनसरीले मोरङ जिल्लालाई ४–३ गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।
सुनसरीका दिवस खत्रीले २ गोल, कविन्द्र लिम्बू र विवेक राईले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । मोरङका लागि कैलाश बस्नेतले २ गोल र नवीन न्यौपानेले १ गोल गरे ।
उपाधि जितेको सुनसरीले ३१ हजार रुपैयाँ र उपविजेता मोरङले २१ हजार रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङका कैलाश बस्नेत र उत्कृष्ट गोलरक्षक सुनसरीका अनुराग श्रेष्ठ भए ।
प्रतियोगितामा मोरङ, सुनसरी, झापा, उदयपुर र धनकुटाको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम), आयोजना संस्थाका अध्यक्ष जतिन ताम्राकार, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरजकुमार श्रेष्ठ, दीपेश बास्तोलालगायतले पुरस्कार प्रदान गरे ।



















