
काठमाडौं । राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश पुगेका छन् । दुवै टोली उपाधि जितका लागि बुधबार खेल्ने छन् ।
प्रतियोगिताअन्तर्गत मंगलबार (आज) च्यासल मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले नवप्रवेशी टोली सशस्त्र प्रहरी बल (एपीएफ क्लब) लाई ६–० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
आर्मीका लागि काशीराज राईले ३ गोल, राजेन्द्र कार्कीले २ र प्रदीप राजवंशीले १ गोल गर्दै टोलीलाई विजयी बनाए । आर्मीका देवसिंह धामी प्लेयर अफ द म्याच भए ।
सोमबार मात्रै राष्ट्रिय महिला हक्की प्रतियोगितामा आर्मीले गण्डकीलाई नै हराउँदै उपाधि जितेको थियो । पुरुष हक्कीमा समेत दुवै टोली फाइनलमा पुगेका छन् ।
त्यसैगरी, अर्को सेमिफाइनलमा गण्डकीले नेपाल प्रहरीलाई पेनाल्टी सुट आउटमा २–१ को गोलअन्तरले पाखा लगायो । गण्डकीका जोसन राई प्लेयर अफ द म्याच भए ।
निर्धारित समयको खेल गोलरहित सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।
सुट आउटमा गण्डकीका संगम घर्ती मगर र असिम बहिकले गोल गरे । विवेक गुरुङ, कुशल नेपाली र सोनु खान चुके । प्रहरीबाट सुरज बोहरा बाहेक अन्यले अवसरलाई सदुपयोग गर्न सकेनन् ।
नवराज खत्री, सुरेशप्रसाद जोशी, आयुष शाह र सुनिल राणाले गोल गर्न सकेनन् ।



















