
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा र गौरव थापालाई एन्फाको साधारण सभामा प्रवेशमा रोक लगाइएको छ ।
धुलिखेलमा शुक्रबार (आज) हुन लागेको साधारण सभामा सहभागी हुन छोरा गौरवसहित पुगेका गणेश थापा गेटमै रोकिएका हुन् ।
अदालतको आदेश विपरीत एन्फाको साधारण सभामा २ जनालाई प्रवेशमा रोक लगाइएको बताइएको छ ।
उच्च अदालत पाटनले थापाका बाबुछोरालाई साधारण सभामा सहभागी हुन पाउने अन्तरिम आदेश गरेको थियो । सो आदेशको प्रतिलिपिसमेत बोकेर उनीहरू धुलिखेल पुगेका थिए ।
तर, गेटमा रहेका सुरक्षाकर्मी र स्वयम् सेवकले आफूहरूलाई भित्र पस्न नदिएको थापाले बताएका छन् ।
उनले भने, ‘हामी २ जनालाई मात्रै गेटमा रोकेको छ । भित्र पस्न प्रवेश पास चाहिने बताइरहेका छन् । तर, एन्फाले प्रवेश पास दिन मानेको छैन ।’
गणेश थापा आरसी ३२ क्लबको प्रतिनिधिका रूपमा एन्फाको साधारण सभामा जान लागेका हुन् । उक्त क्लबले वैशाख १५ गते थापालाई प्रतिनिधि चयन गरेको थियो ।
यस्तै, गौरव थापा काठमाडौं जिल्ला फुटबल संघले साधारण सभामा प्रतिनिधि चयन गरेको छ । उनीहरू दुवैले साधारण सभामा भाग लिन पाउने अन्तरिम आदेश उच्च अदालत पाटनले गरिसकेको छ ।



















