इलाम गोल्डकपले गर्यो आयव्यय सार्वजनिक

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २७, शनिबार १३:५०

विराटनगर । इलाममा भएको ‘दोस्रो इलाम गोल्डकप फुटबल’ प्रतियोगिताको आयव्यय सार्वजनिक भएको छ ।

गत मंसिरमा रेडहर्स फुटबल क्लबले आयोजना गरेको गोल्डकपको ९५ लाख रुपैयाँको आयव्यय सार्वजनिक गरिएको हो ।

इलाममा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष साङ्गे योल्मोले ९४ लाख ९५ हजार रुपैयाँको हिसाब–किताब सार्वजनिक गरेका छन् ।

विभिन्न दाता र गेटमनीबाट गोल्डकपका लागि आर्थिक संकलन भएको छ । क्लबका अध्यक्ष योल्मोले आम्दानीतर्फ गैर आवासीय नेपालीको संस्था (एनआरएनए) बाट ५ लाख, इलाम नगरपालिकाबाट १० लाख, गोर्खा ब्रुअरीबाट ४ लाख ५० हजार, १ हजारको प्रि–टिकटबाट २ लाख ८० हजार, गेटमनीबाट १८ लाख ६३ हजार, नेपाल एयरलाइन्सबाट १ लाख, रेड पान्डा नेटवर्कबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको बताए ।

त्यस्तै, सन नेपाल लाइफबाट १ लाख, सिजी फुड्सबाट १ लाख ४० हजार, तारा–रोजु सापकोटाबाट ५ लाख, रेडबुलबाट ५७ हजार, नेपाल टेलिकमबाट २० हजार, बिंगो खेलबाट ९ लाख ५० हजार, व्यक्तिगत सहयोगबाट ८ लाख ३८ हजार, सिजनल टिकटबाट ३ लाख ४५ हजार, पुरानो मौज्दात ९ लाख ८८ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

अध्यक्ष योल्मोले १३ लाख रुपैयाँ उठ्न भने बाँकी रहेको बताए । उनले दाताले घोषणा गरेका सबै हिसाब उठिसक्दा १० लाख रुपैयाँ नाफा हुन्छ ।

अब व्यक्तिगत रूपमा रकम उठ्न बाँकी छैन, संस्थागत मात्र भएकाले उठ्न बाँकी रकम पनि उठ्ने निश्चित रहेको उनले प्रस्टाए ।

प्रतियोगिता आयोजना गर्दा भएको खर्चतर्फ पुरस्कार राशि १६ लाख ८९ हजार, प्यारापिट निर्माण २३ लाख ३७ हजार, विज्ञापन तथा प्रचार १ लाख ५५ हजार, खेलाडी टिम खर्च २२ लाख २० हजार, खाना–खाजा, होटलतर्फ ७ लाख ३६ हजार, रेफ्री खर्च २ लाख ६० हजार, सुरक्षा ९० हजार, स्टेसनरी ६४ हजार, ब्यानर, ट्रफी, मेडललगायत ४ लाख ८५ हजार छ ।

यसैगरी, बिजुली–पानी ५२ हजार, इन्धन १ लाख ५ हजार, यातायात ३५ हजार, अतिथि सत्कार, उद्घाटन, समापन समारोह २ लाख ४ हजार रुपैयाँ रहेको आयोजकको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.