
विराटनगर । विराटनगरमा जारी तेस्रो कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज ) सुनसरी बराहक्षेत्रको भरौल भेट्रान्स र मोरङ सुन्दरहरैँचाको विराट भेट्रान्स क्लबबीच खेल हुनेछ ।
प्रतियोगिताअन्तर्गत सोमबार विराटनगरको जुट मिलको खेल मैदानमा भएको खेलमा धरान र पथरी विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् ।
पहिलो खेलमा पथरीशनिश्चरे भेट्रान्सले आयोजक मिल्स भेट्रान्स क्लब (ख) लाई २–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
पथरीका लागि प्रतीक सुब्बा र मनिषले १–१ गोल गरे भने मिल्सका सौगत घिमिरेले सान्त्वना गोल गरे ।
अर्को खेलमा धरान भेट्रान्सले झापाको कनकाई भेट्रान्सलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा पुग्यो ।
धरानका लागि पदमकुमार राई, सुरज श्रेष्ठ र निर्मल तामाङले गोल गरे भने कनकाईका लागि जितेन्द्रबहादुर श्रेष्ठले १ गोल फर्काए ।



















