
विराटनगर । पहाडी जिल्लामा रहेका खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले गरेको छन् ।
पहाडी क्षेत्रका खेलकुदको संरचना, खेलको अवस्था तथा प्रशिक्षणलगायतका अनुगमन गर्दै सदस्यसचिवले खोटाङ पुगेका छन् । उनले त्यहाँ रहेको खेलकुद संरचनाहरूको अनुगमन तथा निरीक्षण गरेका हुन् ।
खेलकुदको संरचनाको अनुगमन तथा खेल क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै खेलकुदलाई कसरी नयाँ ढंगबाट अघि बढाउन सकिन्छ भनेर राय सुझाव सदस्यसचिव बस्नेतले लिएको बोर्डका कार्यालय प्रमुख कालीदास भट्टराईले जानकारी दिए ।
अन्तरक्रियामा खोटाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महेश राईले जिल्लामा रहेको कभर्ड हलको स्तरोन्नति र विकास समितिको कार्यालयको निर्माणलाई प्राथमिकतामा राख्न बोर्डसँग आग्रह गरेका थिए ।
त्यस अवसरमा सदस्यसचिव बस्नेतले प्रदेश भरिका खेलकुद संरचनाको निर्माण र सुधारका लागि बजेट माग आएको बताए ।
उनले खेलकुद क्षेत्रलाई हालको सीमित बजेटभन्दा थप बजेट मागका लागि मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्रीसँग पहल गरिरहेको सुनाए ।
खेलकुद क्षेत्रको विकास राज्यको लगानीले मात्रै पर्याप्त नहुने बताउँदै निजी क्षेत्रको समेत साथ सहयोगको अपेक्षा बोर्डले गरेको सदस्यसचिव बस्नेतले भने ।



















