नेपालको बहराइनमाथि शानदार जित 

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार १६:२०

काठमाडौं । आईसीसी टी २० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित निकालेको छ ।

थाइल्यान्डमा जारी छनोट खेलअन्तर्गत बिहीबार (आज) भएको खेलमा पानी परेपछि त्यस खेल प्रभावित भएको थियो ।

पानी परेपछि खेलको ओभर घटाएर नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् ।

पूजा महतोले ११ बलमा २ चौकासहित १३ रनको योगदान दिइन् । ओपनर सम्झना खड्का ५ रनमा आउट भइन् । बहराइनका लागि पवित्रा सेट्टीले ३ विकेट लिइन् ।

त्यसअघि बहराइनले १२ ओभर ४ बलमा ७६ रन ३ विकेटको स्थितिमा रहँदा पानी परेको थियो । रासिका रोड्रीगोले २९ बलमा २४ रन जोड्दा बहराइनले राम्रो सुरुवात पाएको थियो ।

यस जितले नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपालको ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक पुगेको छ । ३ खेलमा हङकङको ४ अंक छ ।

बहराइनको ३ खेलमा १ अंक छ । अब अन्तिम खेलमा शुक्रबार बहराइन र हङकङ खेल्नेछन् । उक्त खेलमा हङकङ पराजित भए मात्र नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ ।

छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.