पहाडी क्षेत्रको खेलकुद संरचनाको अनुगमन र अन्तरक्रिया गर्दै खेलकुद बोर्ड  

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार १६:१०

विराटनगर । खेलकुद क्षेत्रलाई चलायमान बनाउनका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले पहाडी क्षेत्रमा भएका संरचनाको अनुगमन गर्न थालेको छ ।

बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) सहित कार्यालय प्रमुख कालीदास भट्टराईको टोलीले पहाडी क्षेत्रमा भएका खेल संरचना, कार्यालय भवन र खेल गतिविधिको अनुगमन थालेका छन्  ।

प्रदेशको १४ वटा जिल्लामध्ये पहाडी जिल्लालाई विशेष प्राथमिकतामा राखेर बोर्डले अनुगमन, निरीक्षण गर्दै ठाउँ ठाउँमा सरोकारवालाहरूसँग खेल गतिविधिलाई कसरी चलायमान बनाएर राम्रो खेलाडी उत्पादन गर्ने भन्ने विषयमा अन्तरक्रिया गर्दै आएको सदस्यसचिव बस्नेतले जानकारी दिए ।

पहाडी क्षेत्रको खेलकुद विकासमा प्रदेश सरकारले बोर्डमार्फत काम गर्दै आएको भए छ । सदस्यसचिव बस्नेतले भने, ‘प्रदेश सरकारसँग पर्याप्त बजेटको अभावमा भने जस्तो काम गर्न सकेको छैन । भएको बजेटबाट स्रोत सधानको प्रयोग गर्दै खेल र खेलाडीको विकासमा तलिन भएर लागेको हुँदा अब स्थानीय सरकार र सम्बन्धित खेलसँग सरोकार राख्ने सबै पक्ष मिलेर खेल र खेलाडीको विकासमा हातेमालो गरेर अघि बढ्नु पर्ने हुन्छ ।’

१४ जिल्लाको खेलकुद संरचनाहरूको अभिलेखन तथा आगामी बजेटमा सरोकारवालाहरूको माग र चासो बुझ्न अनुगमन र अन्तरक्रिया गर्दै आएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।

उनका अनुसार बोर्डले पछिल्लो समय प्रदेशको पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायतका ठाउँमा अनुगमन, निरीक्षण र अन्तरक्रिया गरेको छ ।

यस क्रममा बोर्डले खोटाङमा जिल्ला खेलकुद विकास समितिको कार्यालय तथा खोटाङ बहुउद्देश्यीय कभर्ड हललगायतको संरचना, ओखलढुंगमा खेलकुद विकास समितिको कार्यालय भवन, निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल, समितिको कार्यालय प्राङ्गणमा रहेको निर्माणाधीन खेल मैदान र सोलुखुम्बुमा कार्यालय भवन, योङ स्टार बहुउद्देश्यीय कभर्ड हल, खेल मैदान लगायतको संरचनाको अनुगमन र निरीक्षण गरेको  छ ।

बोर्डले ओखलढुंगामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रदीप सुनुवारले सानो स्तरको व्यावसायिक खेल संरचनाको निर्माणका लागि स्थानीय तहसँग सहकार्य गर्नुपर्ने धारणा राखे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.