
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताएका छन् ।
श्रमिक तथा ट्रेड युनियन विभागले आज (शुक्रबार) पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले यसअघि कांग्रेस नेतृत्वको सरकारले विभिन्न महत्त्वपूर्ण कानुन ल्याएको भन्दै अव पनि संसदमा विचाराधीन रहेका निजामती, शिक्षा लगाएका महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताए ।
सदनले पारित गरेका कानुनहरूलाई व्यवहारमा नै कार्यान्वयन गर्नु आवश्यक रहेको धारणा उनले राखे । नेपालको वर्तमान संविधान कांग्रेस नेतृत्वकै सरकारले जारी गरेको भन्दै देउवाले संविधानले योगदानमा आधारित सुरक्षाको प्रत्याभूत गरेको जिकिर गरे । श्रमसम्बन्धी विभिन्न कानुनहरू पनि आफूहरू प्रधानमन्त्री भएकै समयमा जारी गरिएको उनले बताए ।
सभापति देउवाले श्रम क्षेत्रको कानुन कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको पूर्ण कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

























