मोरङका पत्रकार नरेन्द्र बस्नेत र गोपाल काफ्लेले पाए सफाइ

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ११, आइतबार १७:४८

विराटनगर । मोरङ जिल्ला अदालतले गालीबेइज्जती मुद्दामा मोरङका पत्रकार नरेन्द्र बस्नेत र गोपाल काफ्लेलाई सफाइ दिएको छ ।

न्यायाधीश अरुणकुमार झाको इजलासले २०८१ माघ ८ गते उक्त मुद्दाको फैसला गरेको हो । फैसलाको पूर्णपाठ हालसालै तयार भएको छ । बेलबारीबाट प्रकाशित हुने बेतना दैनिकका प्रधान सम्पादक बस्नेत र पथरीशनिश्चरेका पत्रकार काफ्लेलगायत ३ जनाविरुद्ध २०८१ वैशाख २० गते अदालतमा मुद्दा दायर भएको थियो ।

विराटनगर महानगरपालिका–४ घर भइ पथरीशनिश्चरे नगर अस्पतालमा कार्यरत मुरारी आचार्यले गालीबेइज्जती मुद्दा दायर गरेका हुन् । अदालतले वादीको दाबी झुटो भएको फैसला सुनाएको हो ।

पथरी नगर अस्पतालमा कार्यरत १ जना महिला कर्मचारीले आचार्यबाट आफू पीडित भएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् । उनले डर-त्रास देखाएर धम्की दिँदै पटक–पटक आचार्यले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

उनले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका कुरा समाचार र भिडियोका रूपमा बेतना दैनिकलगायतका सञ्चारमाध्यममा प्रकाशित गरिएको थियो । समाचार प्रकाशित भएपछि आचार्यले आफूमाथि गलत आरोप लगाएको भन्दै गालीबेइज्जती मुद्दा दायर गरेका थिए ।

मुद्दामा ती महिला कर्मचारीलाई पनि प्रतिवादी बनाइएको थियो । मुद्दा दायर भएको लामो समयपछि अदालतले वादीको दाबी नपुग्ने ठहर गर्दै मुद्दाको फैसला गरेको हो । आचार्यको आरोप प्रमाणित हुन नसकेको फैसलामा उल्लेख छ । पत्रकार काफ्लेले आफ्नो कर्तुत ढाकछोप गर्न आचार्यले रचेको प्रपञ्चलाई अदालतले अस्वीकार गरेको बताए ।

‘आफ्नो गलत कामको पर्दाफास भएपछि आचार्यले जोगिनलाई अदालतको सहारा लिन खोजेका थिए । तर, अदालतबाट दाबी नपुग्ने फैसला भयो । अदालतले हामीलाई न्याय दियो । फैसलाको सम्मान गर्छौं,’ उनले भने । आचार्यको कर्तुतका बारेमा ती कर्मचारीले दिएको भिडियो बयान बेतना दैनिकलगायतका मिडियासँग सुरक्षित रहेको काफ्लेले बताए ।

ती महिला कर्मचारीले समेत आचार्यविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेकी थिइन् । उक्त मुद्दामा आचार्यले पनि सफाइ पाएका छन् । दुवै मुद्दालाई अदालतले लगाउमा राखेर सुनुवाइ गरेको थियो ।

विभिन्न विवादमा पर्दै आएका आचार्यमाथि अनेक आरोपहरु लाग्दै आएको छ । अस्पतालको स्वास्थ्य शाखा प्रमुख रहेका उनीमाथि नगर अस्पताल आफैंले चलाउनुपर्ने फार्मेसी (औषधि पसल) कमिसन लिएर ठेक्कामा लगाएको, बिना सूचना भित्रभित्रै कर्मचारी नियुक्त गरेको, नगर अस्पताल निर्माणमा नक्सा परिवर्तन गर्नेदेखि नियम र मापदण्डविपरीतका विभिन्न काम गरेको, दीर्घरोगीले पाउने उपचार खर्चमा विभेद गरेको लगायतका आरोप लाग्ने गरेको हो ।

आचार्यले अदालतको फैसला स्वीकार गरिने बताए । फार्मेसी ठेक्काको विषय पथरीशनिश्चरेको मात्रै नभएर देशैभरको समस्या रहेको उनको भनाइ छ । ‘यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सोधेको थियो । हामीले जवाफ पठाइसकेका छौं । अबदेखि चैं फार्मेसी अस्पतालले नै चलाउँछ,’ आचार्यले भने । आफ्नो शाखाबाट नियमसंगत नै काम भइरहेको उनको दाबी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.