
विराटनगर । विराटनगरमा भएको कोशी प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल राष्ट्र बैंकले जितेको छ ।
सहिद रंगशालास्थित कर्भड हलमा नेपाल राष्ट्र बैंक कर्मचारी संघ, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त रुपमा आयोजित प्रतियोगिताको उपाधि नेपाल राष्ट्र बैंकले जितेको हो ।
राष्ट्र बैंकका रगेन्द्र साम्बा र सुजनकुमार विश्वकर्माको जोडीले प्राइम कमर्सियल बैंकका सोनाम लामा र भेषराज भुजेलको जोडीलाई २१–१८ र २४–२२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक तृतीय स्थान भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाण पत्र, मेडल र ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा २१ वटा बैंक तथा वित्तीय संस्थाका ३१ टोलीको सहभागिता रहेको थियो ।
खेलाडीहरूलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मी, एभरेस्ट बैंकका विनय घिमिरे तथा रेफ्री लवभक्त श्रेष्ठले पुरस्कार प्रदान गरे ।



















