
विराटनगर । १० औँ राष्ट्रिय सी एच आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि बागलुङले जितेको छ ।
मोरङको कानेपोखरी गाउँपालिकामा भएको प्रतियोगितामा २० स्वर्ण पदकका साथ बागलुङले उपाधि जितेको हो । जितसँग बागलुङले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गर्यो ।
त्यस्तै, १४ स्वर्ण पदकका साथ भक्तपुर जिल्ला दोस्रो र ४ स्वर्ण पदकका साथ रुपन्देही तेस्रो भयो । उनीहरूले क्रमशः : नगद १० हजार र ५ हजार रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गरे ।
कानेपोखरीमा ३ भएको प्रतियोगिताको अनुशासित टोलीको उपाधि तेह्रथुम जित्दै नगद ५ हजार र ट्रफी प्राप्त गर्यो ।
त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी सिनियर पुरुषतर्फ २ स्वर्ण र १ रजत पदक प्राप्त गरेका भक्तपुरको आयन श्रेष्ठ, जुनियर पुरुषतर्फ १ स्वर्ण र १ कांस्य पदक जितेका रुपन्देहीका प्रिन्सी दर्लामी भए ।
उत्कृष्ट खेलाडी सिनियर महिलातर्फ २ स्वर्ण पदक प्राप्त गर्ने भक्तपुरकी रेसा थापा र जुनियर महिलातर्फ ३ स्वर्ण पदक प्राप्त गर्ने भक्तपुरकै रेणु शाहीले घोषित भए ।
प्रतियोगितामा नवलपरासी, बागलुङ, रुपन्देही, पाल्पा, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्यादी र मोरङ गरी १२ जिल्लाका ३ सय २५ जना खेलाडीको सहभागिता रहेको थियो ।
कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोलाप्रसाद अधिकारी, नेपाल चाङ हुन सी एच आईटीएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष कुशल बुढा मगरलगायतले खेलाडीलाई पुरस्कार प्रदान गरे ।



















