
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखलाकाे पहिलाे खेलमा नेपाल र स्कटल्याण्डले आज खेल्न लागेका हुन् । याे खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि सुरु हुनेछ ।
नेपालले स्कटल्याण्डसँग लिग २ मा यसअघि पनि खेलेकाे थियाे । अमेरिकामा गत अक्टोबरमा भएको लिग २ शृंखलामा नेपालले स्कटल्याण्डसँग एक खेल जित्दा एक खेल वर्षाका कारण राेकिएकाे थियाे ।
हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ८ खेलमध्ये ४ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ ।
अंकतालिकामा १२ खेलबाट ६ अंक भएको नेपाल ८ टिममध्ये हाल पुछारमा रहेको छ ।
नेपालले स्कटल्याण्ड आउनुअघि बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेल खेल्दै अपराजित रहेको थियो भने स्कटल्याण्ड आएर ए टोलीसँग पनि अभ्यास खेलेको थियो ।



















