
काठमाडौं । अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णय विरुद्धको रिटमा आज (मंगलबार) अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ ।
जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ संशोधन विरुद्धको रिटसँगै उक्त रिटलाई पनि राखिएको छ ।
गत वैशाख २ गते उक्त मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
गभर्नर नियुक्ति विरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।
गभर्नर पौडेलविरुद्धको रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको छ ।
पौडेलको नियुक्ति बदरको मागसहित तत्काल नोटमा हस्ताक्षर रोक लगाउन अन्तरिम आदेशको माग अधिवक्तात्रयले गरेका छन् ।

























