खेलाडीमा ऊर्जा रहेकाले नतिजा आफ्नो पक्षमा आउँछ : मुख्य प्रशिक्षक रस

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार २०:०६

विराटनगर । नेपाली फुटबल टोली विदेशी मैदानमा उच्च मनोबलका साथ उत्रने हुँदा खेल आफ्नो पक्षमा हुने टोलीका मुख्य प्रशिक्षक म्याट रसले बताएका छन् ।

बुधबार हङकङ स्टेडियममा आयोजित प्रि म्याच कन्फरेन्स नेपालका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङविरुद्ध जित हात पार्ने मनोबलका साथ टोली मैदानमा उत्रने बताएका हुन् ।

उनले हङकङलाई नजिकबाट नियालेको र टोली बलियो भएको प्रस्ट्याए । मुख्य प्रशिक्षक रसले हङकङलाई राम्ररी अध्ययन गरेको र रातिको खेलमा उसको अवस्था राम्रो भए पनि आफूहरूले पछिल्लो करिब १ महिना कडा मेहनत गरेको उल्लेख गरे ।

उनले भने, ‘हामीले एसियन च्याम्पियनसिप छनोटमा लाओसविरुद्धको खेल पूर्व यस प्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक ऊर्जा दिएको छ । हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमीकमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउने छौँ । यो सुखद पक्ष हो ।’

हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी २ खेलका लागि पूर्ण रूपमा तयार रहेको बताए ।

हङकङसँग उच्चस्तरको खेल हुने बताएका मुख्य प्रशिक्षक रसले हङकङविरुद्ध आफूहरूले उत्कृष्ट खेल प्रस्तुत गर्ने उल्लेख गरे ।

प्रि म्याच कन्फरेन्स टोलीका कप्तान किरण चेम्जोङले हङकङसँगको मैत्रीपूर्ण म्याच मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत उत्कृष्ट अभ्यास रहेको बताए ।

उनले भने, ‘हामी विपक्षीलाई सम्मान गर्छौँ । तर, पनि पाहुनाका रूपमा हामी भोलि हुने खेलका लागि तयारीमा रहेका छौँ ।’

बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले आज बेलुका अन्तिम अभ्यास गरेको छ । हङकङले यसै मैदानमा केहीदिन अघि इङ्ग्लिस टोली म्यानचेस्टर युनाइटेडसँग ३ एक गोल अन्तरले हारको स्वाद पाएको थियो ।

हङकङको टोली फिफा वरियतामा १ सय ५३ औँ स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.