
काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ । गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ ।
मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका पलहरू पनि आउँछन् । त्यस्तो बेला धेरैजसो मानिसहरू सम्हालिन सक्दैनन् र आफ्नो दुःख, पीडा, दर्द, भोक, रोग, शोक, गरिबी र कठिनाइ अरूलाई सुनाउँछन् । सुन्ने त धेरै भेटिन्छन्, तर साथ दिने भने थोरै मात्र हुन्छन् । आज साथ दिएको मान्छेले भोलि गएर त्यही कुरा हाँसो, मजाक र खिल्लीको विषय बनाउन सक्छ। हरेक व्यक्तिका आफ्नै बाध्यता हुन्छन् । मानिसले आफ्नै दुःख ठूलो ठान्छ, अरूको दुःखमा साथ दिने मानिस निकै कम हुन्छन् ।
कतिपय अवस्थामा मानिस बिरामी भएर अस्पतालको बेडमा छटपटिँदा आफ्नो नजिकको मान्छे खोज्छ, तर त्यस्तो बेला पनि साथ नपाउने अवस्थामा गीतकार खतिवडाले निकै मार्मिक ढंगले ‘साथ मागेर के काम? चाहिदा खेरी पाइँदैन भने !’ भन्ने भाव व्यक्त गरेका छन् । मानिसलाई स्वार्थी नबनौं, अरूको सुख–दुःखमा साथ दिऊँ भन्ने सन्देश यस गीतमार्फत दिएको पाइन्छ ।
कतिपयले आफ्ना पीडा र दुःख देखाउँछन् भने, केहीले देखाउँदैनन् । फरक यत्ति हो- कसैको आँसु देखिन्छ, कसैको देखिँदैन; तर मनभित्र आँसु गडेको हुन सक्छ भन्ने गहिरो भाव गीतमा समेटिएको छ । गीतले मानवीय संवेदनशीलता तथा यथार्थतालाई उजागर गरेको छ ।
गीतमा मानिसको सोच र मनोवृत्तिको पनि चित्रण गरिएको छ । कोही सकारात्मक सोच राख्छन्, कोही नकारात्मक । सकारात्मक व्यक्तिहरूबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ, भने नकारात्मक सोच भएका व्यक्तिहरूले अरूको कुरा काट्ने प्रवृत्ति देखाउँछन् ।
त्यस्ता मानिसहरूबाट नकारात्मक ऊर्जा सर्छ, त्यसैले त्यस्ता मानिसहरूबाट टाढा बस्नु नै उपयुक्त हुन्छ भन्ने सन्देश गीतमा पाइन्छ । आज जसको सामु अरूको कुरा काटिन्छ, भोलि उसैले तपाईंको पनि कुरा काट्न सक्छ । त्यसैले, आत्मिक शान्तिका लागि यस्तो प्रवृत्तिबाट दूरी कायम गर्नु नै उचित ठहरिन्छ ।
गीतकार नारायण खतिवडाका यसअघि पनि दर्जनौं गीतहरू सार्वजनिक भइसकेका छन्। ‘सम्झनाका पाइलाहरू’ नामक गीति संग्रहमा १०९ वटा गीतहरू समावेश छन् । ‘स्वार्थी संसार,’ ‘स्वदेश छोडी,’ ‘मनका कुरा,’ ‘बिन्दास,’ ‘देखुँ देखुँ,’ ‘सन्देश पुर्याइदेउ,’ ‘मेरो कथा,’ ‘चोखो चोखो’ लगायतका गीतहरू बजारमा लोकप्रिय छन् ।
गीत, कविता तथा समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार नारायण खतिवडा हाल सरकारी सेवामा कार्यरत छन् । सामाजिक परिवेश, घटनाक्रम, वर्तमान परिस्थिति, संयोगान्त र वियोगान्त विषयवस्तुका साथै राष्ट्र र राष्ट्रियताको पक्षलाई कलात्मक र सन्देशमूलक रूपमा साहित्यमा उतार्ने सशक्त स्रष्टा खतिवडाको पछिल्लो सिर्जना ‘दुःख सुनाएर के काम ?’ गीत सामाजिक सन्देश र मानवीय पक्ष बोकेर आएको छ।
चर्चित संगीतकार दीपक शर्माको संगीत र सुमधुर स्वरका धनी स्वरूपराज आचार्यको स्वरले यस गीतलाई झनै मार्मिक र हृदयस्पर्शी बनाएको छ।



















