
विराटनगर । मनसुन सुरु भए पनि निस्क्रिय भएकाले गर्मी चर्किएको छ । गर्मीका कारण अनेक स्वास्थ्य समस्या भोग्नु पर्ने हुन्छ । गर्मीका कारण शरीरमा पसिना बढी आउँछ । धुवाँधुलोले पनि छालालाई असर पुर्याइरहेको हुन्छ ।
पसिना धेरै आउने भएकाले गर्मीयाममा दिनदिनै नुहाउनु पनि पर्ने हुन्छ । यसका साथै छालालाई स्वस्थ राख्न अन्य विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ ।
गर्मीमा धेरै पसिना आउने भएका कारण शरीरमा पानीको कमी हुनसक्छ । यसले गर्दा शरीरमा छाला सुख्खा हुने, एलर्जी र अनुहारमा दाग आउने समस्या आउन सक्छ । त्यसैले पानी धेरै पिउनुपर्ने सल्लाह विज्ञहरुले दिने गरेका छन् । यसले शरीरमा भएको टक्सिन (शरीरभित्रको विषादी चीज) बाहिर निकाल्छ, जसले गर्दा अनुहारमा चमक आउँछ ।
यो समयमा छालामा बढी समस्या पर्न सक्छ । घामले डढ्नु, पसिना आउनु, चाउरी पर्नु र चाया, पोतो आउनु जस्ता समस्या बढी देखिन्छन् । मौसमअनुसार छालाको स्याहार गर्न नजान्दा कतिपयले समस्या झेलिरहेका हुन्छन् ।
मौसमअनुसार र छालाको प्रकृति हेरेर, बुझेर स्याहार गर्ने तरिका फरक–फरक हुन्छ । गर्मीमा धेरै पसिना आउने भएकाले यो समय विषेश ध्यान दिनुपर्ने सौन्दर्यकर्मी भली सुब्बाको सुझाव छ । यसै विषयमा केन्द्रित भएर मुलुकी खबरकर्मी सुजता लिम्बूले गरेको कुराकानी ।
गर्मी बढिरहेको छ, यो समय घामको प्रकाशबाट छालालाई कसरी जोगाउने ?
गर्मी मौसममा छालालाई जोगाउन जरुरी हुन्छ । घामबाट आउने विकिरणबाट जोगाउन सनक्रिम लगाउनुपर्छ ।
कस्तो खाले क्रिम लगाउनु उपयुक्त हुन्छ ?
‘५० एसफीएफ’ ले पनि ९५ प्रतिशत काम गरिरहेको हुन्छ । घाममा कति समय रहनुहुन्छ भन्ने कुराले पनि फरक पार्छ । आफ्नो छालाको प्रकार अनुसार प्रयोग गर्नुपर्छ ।
यस्तो क्रिम उमेर अनुसार फरक फरक लगाउने भन्ने पनि हुन्छ कि ?
एसफीएफ भएको सनस्क्रिन सबै उमेरकाले लगाउन सक्छन् । तर, उमेर अनुसार फरक किसिमको सनस्क्रिन प्रयोग गर्नुपर्छ । बच्चालाई पनि लगाइन्छ । दिनमा तीन पटक लगाउनुपर्छ । उमेर होइन आफ्नो छालाको प्रकार अनुसार प्रयोग गर्ने हो ।

























